Worldlink Nepalgunj

Kohalpur Municipality (कोहलपुर नगरपालिका)

Kohalpur Municipality (कोहलपुर नगरपालिका)

कोहलपुर नगरपालिका (Kohalpur Municipality)

  • जम्मा वडा संख्या: १५
  • जम्मा जनसंख्या: ७०६४७
  • समावेश गा.वि.स.: 
    • कोहलपुर नगरपालिका
    • शमसेरगंज गा.वि.स.
  • जम्मा क्षेत्रफल: १८४.२६ ( वर्ग कि.मी.)

Kohalpur Municipality: संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ प्रशासनिक संरचना अनुसार कोहलपुर नगरपालिका लुम्बिनी प्रदेश को बाँके जिल्लामा पर्दछ । पृथ्वीको गोलार्द्धका आधारमा कोहलपुर नगरपालिका २८ डिग्री ७ मिनेट १२ सेकेण्ड देखि १८ मिनेट ५४ सेकेण्ड उत्तरी अक्षांस तथा ८१ डिग्री ३८ मिनेट २४ सेकेण्ड देखि ८१ डिग्री ४९ मिनेट ५१.६ सेकेण्ड पूर्वी देशान्तरमा रहेको छ । यो नगरपालिका नेपालको मध्यपश्चिम तराई क्षेत्रमा पर्दछ । नगरपालिकाको कुल क्षेत्रफल १८४.२६ वर्ग की.मी. छ । कोहलपुर नगरपालिकाको पूर्वमा राप्तीसोनारी गाउँपालिका, पश्चिममा बैजनाथ गाउँपालिका, उत्तरमा सल्यान जिल्लाको चुरे पहाड श्रृंखला र दक्षिणमा जानकी गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिका पर्दछ । बाँके जिल्लाको सदरमुकाम शहर नेपालगञ्ज देखि १० की.मी. उत्तरपट्टि रहेको कोहलपुर नगरपालिका साविकमा भेरी अञ्चल तथा मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा पर्दथ्यो ।

यस नगरपालिकाको नाम तेल पेल्ने कोलबाट भएको हो भन्ने विश्वास छ । कोल भनेको तेलहन जस्तै तोरी, आलस आदि पेलेर तेल उत्पादन गर्ने काठैकाठले बनेको घरेलु यन्त्र हो । विं. स. २०७१ वैशाख २५ गतेको नेपाल सरकार मन्त्रिपरिषदको निर्णय बमोजिम औपचारिक रुपमा साविकको कोहलपुर गाविस र रझेना गाविस वि.सं. २०७१ ज्येष्ठ ७ का दिन गाभिएर यस कोहलपुर नगरपालिकाको स्थापना भएको हो । पछि समसेरगन्ज गाविसको केही भाग वि.सं. २०७३ मा कोहलपुर नगरपालिकामा समायोजन भएको हो । कोहलपुर नगरपालिका सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल, लुम्बिनी प्रदेशको बाँके जिल्लामा पर्दछ । यस नगरपालिकामा जम्मा १५ वटा वडाहरु रहेका छन् । निर्वाचन क्षेत्र विभाजनका आधारमा कोहलपुर लुम्बिनी प्रदेशको निर्वाचन क्षेत्र नं. १ को “ख” तथा प्रतिनिधी-सभा निर्वाचनको क्षेत्र नं. १ मा पर्दछ ।

कोहलपुर नगरप्रोफाइल-२०७४ मा दिइएको घरधुरी सर्वेक्षण, २०७३ को विवरण अनुसार कोहलपुर नगरपालिकामा कुल घरपरिवार १७,६८९ तथा कुल जनसङ्ख्या ८७,३०० रहेको छ । औसत जनसङ्ख्या वृद्धि दर ३.५३ प्रतिशत छ । जाति समुदायका आधारमा कोहलपुरमा कुल जनसङ्ख्यामध्ये पहाडी दलित (११ प्रतिशत), मधेसी दलित (२.२ प्रतिशत), पहाडी जनजाति तथा आदिबासी (९.८ प्रतिशत), मधेसी जनजाति तथा आदिबासी (२६.९ प्रतिशत), पहाडी ब्राम्हण/क्षेत्री/ ठकुरी/ सन्यासी (४३.६ प्रतिशत), मधेसी ब्रम्हण/ क्षत्री/ राजपुत (२ प्रतिशत), मुस्लिम (२.७ प्रतिशत), पहाडी अन्य(०.५ प्रतिशत), मधेसी अन्य (१.३ प्रतिशत) जाति लगायत खटिक, चिडीमार आदिजस्ता लोपान्मुख तथा सीमान्तकृत समुदायका मानिसहरु बसोबास गर्दछन् ।

कोहलपुर नगरप्रोफाइलअनुसार कोहलपुर नगरपालिकाको कुल जनसङ्ख्यामध्ये नेपाली भाषी ६९.२४ प्रतिशत, थारु २४.५१ प्रतिशत, अवधि ४.७ प्रतिशत, हिन्दी १.१ प्रतिशत र मगरखाम, मैथिली, डोटेली, गुरुङ, भोटे र अन्य १ प्रतिशत भन्दा कम रहेका छन् । यस क्षेत्रको हावापानी उपोष्ण कटिबन्धीय (subtropical) क्षेत्रमा पर्दछ । यस नगरपालिका क्षेत्रको अधिकतम तापक्रम ग्रिष्म ऋतुमा ४६ डिग्री र न्यूनतम तापक्रम हिउँदमा ४ डिग्री सेल्सियस सम्म पुग्छ । यहाँ वार्षिक सरदर वर्षा १९१२ मि.मि. हुने गर्दछ । सापेक्षित आद्रता औषत ७१.४ प्रतिशत रहन्छ । यस नगरपालिका क्षेत्रको करिब ६० किलोमिटर क्षेत्रमा डुडुवाखोला, किरणनाला, सानो डुडुवानाला, इटानाला, रोहीणीखोला, रानीघाट लगायतका खोलाहरु बग्ने गर्दछन् । भूतैया ताल, जोरत्ते टप्पर, जोरत्ते सिमसार क्षेत्र र ताल यस नगरपालिकामा रहेका तातलैयाहरु हुन् । कोहलपुर धार्मिक विविधतायुक्त शहर हो । यहाँ धार्मिक सहिष्णुता झल्काउने विभिन्न धर्मावलम्बीहरुको धार्मिक स्थलहरु रहेका छन् । यस नगरपालिकामा कालिका मन्दिर, शिवमन्दिर, मनकामना मन्दिर, शिवालय, राधाकृष्ण मन्दिर, वैष्णोदेवी मन्दिर, जगन्नाथ किरण भवानी, रामजानकी मन्दिर, रानीघाट मन्दिर लगायतका दर्जनौँ हिन्दू धर्मवालम्बीहरुका मन्दिरहरु छन् । विलिभर्स चर्च, बेथेल चर्च, गेश्चमी चर्च आदि क्रिश्चियन धर्मवालम्बीहरुका प्रमुख चर्चहरु हुन् । जहामिया मस्जिद, जहाँमिया कादरी आदि यहाँका मुस्लिम धर्मवालम्बीहरुका धार्मिक स्थलहरु हुन् । साथै यहाँ बुद्ध धर्मवालम्बीहरुको बौद्ध स्तुप पनि रहेको छ ।

कोहलपुरबाट नेपालगन्ज, कर्णाली प्रदेश, पश्चिमको सिमाना कन्चनपुर गड्डाचौकी र पूर्वमा बुटवल, नारायणघाट हुँदै काठमाडौलगायत पूर्वी नेपालका विभिन्न शहरहरु जाने पक्की सडक यातायातको सुविधा छ । यहाँबाट सुर्खेत ८५ किलोमिटर, महेन्द्रनगर २०० किलोमिटर र काठमाडौ ५३५ किलोमिटरको दूरीमा पर्दछन् । कोहलपुरमा पूर्वपश्चिम महेन्द्र राजमार्ग तथा नेपालगन्जबाट सुर्खेत हुँदै कर्णाली प्रदेश जाने रत्न राजमार्ग मिल्ने चारवटा बाटोको मिलनविन्दु (चौराह) रहेको छ । त्यसैले कोहलपुरलाई यातायात सुविधाका हिसाबले महेन्द्र राजमार्गबाट सुदुर पश्चिम तथा कर्णाली प्रदेश जाने प्रवेशद्वारका रुपमा लिइन्छ । कोहलपुर नगरपालिका क्षेत्रभित्र समेत एक ठाउँबाट अर्को ठाउँ जानका लागि बाह्रै महिना मोटरगाडी चल्ने सडक मार्गहरु छन् । यहाँबाट १३ किलोमिटर दूरीमा नेपालगन्ज एअरपोर्ट रहेको छ । यस एअरपोर्टबाट काठमाडौ र कर्णाली तथा सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा जाने हवाइजहाजहरु चल्दछन् । कोहलपुरमा दुर्गम पहाडी जिल्लाहरुबाट बिरामी ल्याउन र आपतकालीन उद्दार कार्यका लागि हेलीप्याडहरु रहेका छन् ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.